८ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा, तिरायो जरिवाना
९ चैत, काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन र नियामकको निर्देशन पालना नगर्ने ८ बीमा कम्पनीहरूलाई कारबाही गरेको छ। बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेहरुमा नेपाल रि, हिमालयन रि, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्याेरेन्स ब्राेकर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स र हिमालयन लाइफ छन्।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ । त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने नियम विपरीत कार्य गरेको पाइएकाले तीन महिनाको अवधिका लागि निलम्बन गरिएको छ ।
अन्य बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएकाे छ ।
बीमा ऐनको दफा १३८ को उपदफा ४ मा प्राधिकरणले जारी गरेको निर्देशन विपरीत कुनै पनि कार्य गरेमा सम्बन्धित निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
पहिलोपटक निर्देशन उल्लङ्घन गर्नेका लागि दुई लाख रुपैयाँ, दोस्रो पटक सोही गल्ती दोहोर्याएमा पच्चीस लाख रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गल्ती गरेमा प्रत्येक पटकका लागि ५० लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १६:५१













