९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखको कारोबार

९ चैत, काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित यही चैत ५ गतेदेखि मेला सुरु भएको थियो । मेला कुल ६० हजार ७०० जनाले अवलोकन गरेका थिए ।  मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई स्टल रहेका थिए ।  पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ ।

गत आर्थिक वर्षमा  २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकामा यस वर्ष ५४ दशमलव २७ प्रतिशतले घटेर रु १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने एक सय नौ दशमलव १६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसन  अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ०७:४६