प्रेमकुमार राईलाई अख्तियारबाट राजीनामा दिन एमाले नेता ज्ञवालीको सुझाव
९ चैत, काठमाडौँ । नेकपा एमालेका नेता रामकृष्ण ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई राजीनामा दिएर आफैँबाट छानविनको सुरूवात गराउन सुझाव दिनुभएको छ ।

सोमबार बिहान फेसबुकमा राईको नाममा सम्बोधन गरेर पत्र लेख्दै उहाँले राजीनामा दिएर आफैँ माथि पनि छानविनका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ । एमाले केन्द्रीय प्रचार विभागका सदस्य समेत रहनुभएको ज्ञवालीले राई माथि नै भ्रष्टाचारीको समेत आरोप लाग्ने गरेकाले अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई सहयोग गर्न सुझाव दिनुभएको छ ।
यस्तो छ ज्ञवालीको सुझाव
आदरणीय प्रेम कुमार राई !
प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाण्डु
विषय- राजीनामा सम्बन्धमा ।
एउटा सचेत नागरिकको हैसियतले म यहाँलाई बालेन सरकार बन्नु पूर्व नै पदबाट राजिनामा गरिदिनु हुन यो निवेदन लेखिरहेको छु ।
भर्खरै सम्पन्न चुनावमा रास्वपाको मुख्य नारा ‘३५ वर्ष यताका सबै भ्रष्टलाई भटाभट जेल हाल्छौ र उनीहरुको सम्पत्ति जफत गर्छौ’ भन्ने रहेको बारेमा यहाँ जानकार नै हुनुहुन्छ होला ।
यो महान काम बालेन सरकारले तपाई मार्फत पक्कै गराउन सक्दैन वा गर्दैन । किनकी तपाईलाई रास्वपाका नेता कार्यकर्ताले एउटा संवैधानिक निकायको प्रमुखका रुपमा नहेरेर पुरानाको सरकारको राजनैतिक नियुक्ति पाएको झोलेको रुपमा हेरेका छन् । तपाई प्रति उहाँहरुको पटक्कै विश्वास छैन ।
अर्को कुरा, उहाँहरुमा गजवको हुटहुटी र छटपटी छ । त्यसैले संविधान र कानुनी व्यवस्था भन्दा माथि उठेर रास्वपा कै पदाधिकारीले तपाई लगायत पुरानो सरकारले नियुक्त गरेका सबैलाई मार्ग प्रशस्त गर्न भनिरहेका छन् ।कतिपय रास्वपाका नेता कार्यकर्ताले तपाईलाई नै भ्रष्टाचारीको आरोप लगाउने गरेका छन् ।
त्यसैले म आग्रह गर्छु- उनीहरुको माग पुराको सुरुवात तपाईबाटै गर्नुस् र भन्नुस्- पहिलो छानविन मै माथि होस् । यसो गर्नु भयो भने ईतिहासले सधै तपाईलाई कहिले बिर्सने छैन ।
समय निर्मम हुन्छ । समय भन्दा बलियो कोही छैन ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ०७:१७













