९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सिक्किमको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालबाट जेनीश पहारीको प्रतिनिधित्व

८ चैत, काठमाडौँ। ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारद्वारा आयोजित यस फेस्टिभलले प्रदेशको सांस्कृतिक तथा चलचित्र क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

उक्त प्रतिष्ठित कार्यक्रममा नेपालबाट जेनीश पहारी बटरफ्लाई फिल्म्सकी संस्थापक तथा प्रबन्ध निर्देशक, एक मात्र महिला फिल्म वितरकको रूपमा सहभागी भइन्। बटरफ्लाई फिल्म्सले क्षेत्रीय कथावस्तुलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

फेस्टिभलका क्रममा उनले “Building the Future: Strengthening Films in Sikkim” र “Producers Conversation” जस्ता महत्वपूर्ण प्यानल छलफलहरूमा सहभागिता जनाइन्। ती सत्रहरूमा चलचित्र उद्योगका अगुवाहरूले सीमापार सहकार्य, सह-निर्माण (co-production) लगायतका सम्भावनाबारे विस्तृत छलफल गरेका थिए। यस क्रममा पहारीले नेपालमा विकसित भइरहेको सुदृढ र दिगो स्थानीय फिल्म इकोसिस्टमबारे अनुभव साट्दै सिक्किमले अपनाउन सक्ने रणनीतिहरू प्रस्तुत गरिन्।

नेपालको चलचित्र क्षेत्रको विकासलाई उल्लेख गर्दै उनले नेपाली डायस्पोरालाई प्रभावकारी रूपमा उपयोग गरी बजार विस्तार गरिएको बताइन्। साथै, पछिल्लो समय नेपाली फिल्महरूले आन्तरिक बक्स अफिसमा वर्चस्व कायम गरिरहेको र स्थानीय सामग्रीप्रतिको दर्शकको रुचि बढ्दो रहेको उनले औंल्याइन्।

यसैबीच, पहारी राजीव मसंद, धर्मा प्रोडक्सनका प्रमुख सञ्चालन अधिकृतसँग भएको विशेष बन्द कक्ष (closed-door) गोलमेच छलफलमा पनि सहभागी भइन्। उक्त छलफलमा सिक्किम सरकारका उच्च अधिकारीहरू समेत सहभागी थिए र क्षेत्रीय चलचित्र क्षेत्र सुदृढ बनाउन नीति निर्माण तथा सहकार्यका सम्भावित मार्गहरूबारे विमर्श गरिएको थियो।

नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदान तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा खेलेको भूमिकाको कदरस्वरूप सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा पहारीलाई सम्मानित गरिएको थियो।

यो सहभागिताले नेपाल र भारतबीच सांस्कृतिक तथा सिनेमाटिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १८:०७