यस्ता छन् गगन थापाको राजीनामा अस्विकृत गर्न विश्वले राखेका ७ कारण
६ चैत,काठमाडौं । कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले ७ वटा तर्क अघि सार्नुभएकाे छ । पार्टी केन्द्रीय कार्य समितको बैठकमा उहाँले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै शीर्षकमा आफ्ना तर्क अघि सार्छनुभएकाे छ ।
शर्माले पेस गरेको प्रस्तावमा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय नहुने बताउनुभएकाे छ ।
यस्ता छन् उहाँले औँल्याएका ७ कारण
१) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मुल नितिको विजय भएको छ ।
कांग्रेसले अंगिकार गरेको राजनैतिक र आर्थिक नितिका पछिल्तिर पुराना/नयाँ सबै दल उभिन आइपुगेका छन् । वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थब्यबस्था अबको नेपालमा सबैको साझा मुलमार्ग बन्न पुगेको छ ।
२) नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनैतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ ।
प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ । राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ ।
३) पराजय हुँदा पनि देशभर पार्टीपंक्ति हल्लिएको छैन । दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने उर्जा आम पार्टी सदस्यमा देखिएको छ। यो अत्यन्तै सकारात्मक छ ।
४) विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा उर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो ।
अतः पराजय व्यहोरेको भएपनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अव्यक्त मनोबिज्ञान र व्यक्त धारणा पाइएको छ ।
५) प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो होईन । तर परिवर्तनको सन्देशले पार्टी पंक्तिमा उर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ ।
पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समीक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।
६) उसबेला विशेष महाधिवेशनसँग असहमत रहेपनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठूलो पक्तिमा ‘पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पुऱ्याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभिष्ट पनि हो ।
७) वर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रुपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुऱ्याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन उर्जाले हामी अग्रसर हुनुछ ।
प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १७:०९













