६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

६ चैत, वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट वीरगञ्ज–१७ अलौका ५० वर्षीय विनयशंकर साह तुरहालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जको चेकपोष्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा २० लाख रकम फेला पारेको थियो ।

साहले चलाएको बीआर ०५ बीके ८६०३ नम्बरको सो मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा २० लाख २५० रुपैयाँ नेपाली र ६०० रुपैयाँ भारतीय नोट लुकाएर राखेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार १५:५०