६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

नुवाकोटमा सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

६ चैत, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते हुनुभएको छ ।

स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उहाँको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । घटना पश्चात गम्भीर घाइते अबस्थामा तामाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ ।

हाल उहाँ धुमबाराहीस्थित ह्याम्स अस्पताल उपचाररत हुनुहुन्छ । घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय १७–१८ जना मानिसहरु मिलेर बिहीबार दिउँसो बस्ती नजिकैको जङ्गलमा सिकार गर्न गएको र सोही समयमा उक्त घटना भएको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । प्रहरीले घटनामा प्रयोग भएको दुई थान भरुवा बन्दुक र मृगको मासु बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार ११:१९