५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

निर्वाचन आयोगले राष्ट्रपतिलाई पेस गर्यो निर्वाचन प्रतिवेदन

५ चैत, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई उहाँले धन्यवाद दिनुभएको छ ।

“फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १७:०३