५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी

५ चैत, पर्सा । जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ । कार्यालयले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशन भएसँगै बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएसँगै वितरण गर्न थालिएको हो ।

कार्यालयले नागरिकता ऐन र नागरिकता नियमावली, २०८२ को मापदण्ड पुगेका नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गरेको हो । कार्यालयले गत फागुन ५ गतेदेखि तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको हो ।

पर्साको वीरगञ्ज महानगर–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएपछि आफूलाई धेरै सहज भएको बताउनुभयो । “नागरिकता बनाउनका लागि धेरै वर्ष भाँैतारिँदै हिँड्नुपर्यो,’’ उहाँले भन्नुभयो, “आमाको नामबाट नागरिकता पाएसँगै अब विभिन्न खालका प्रशासनिक झन्झटबाट मुक्त भएका छौँ ।”

वीरगञ्ज महानगर–१३ का जुबैर अन्सारी पनि लामो सङ्घर्षपछि नागरिकता प्राप्त गर्दा पनि ठूलै उपलब्धि हासिल गरेको अनुभव गरेको बताउनुभयो । “नागरिकताविहीन हुनुको पीडा निकै सकस लाग्दो हुनेरैछ,” उहाँले भन्नुभयो, “आमाकै नामबाट नागरिकता पाएपछि अहिले निकै हर्षित भएको छु ।” पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन भएपछि आवश्यक मापदण्ड र कागजात पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको बताउनुभयो । “नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड पुगेका नागरिकलाई नागरिकता दिन थालेका छौँ,” उहाँले भन्नुभयो, “नागरिकताविहीन भई आफ्नो अधिकारबाट वञ्चित भएका नागरिकहरुलाई ठूलो राहत भएको अनुभूति गरेका छौँ ।”

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १४:१९