चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स
५ चैत, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।
इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार १०:०२













