एभिन्युज टिभीका तीन पत्रकारको नाममा पत्रिकामा प्रकाशित सूचनामा पत्रकार महासंघको आपत्ति
२९ माघ, काठमाडाैँ । नेपाल पत्रकार महासंघले एभिन्युज टेलिभिजन (टिभी)मा कार्यरत तीन पत्रकार राजिनामाको समेत अवसर नदिइ पत्रिकामा सूचना प्रकाशित गरेर अपमानित गरेको भन्दै अापत्ति जनाएको छ । महासंघका सचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै राजिनामाको कुनै अवसर समेत नदिइ सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशित गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको बताएका छन ।

पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्याललाई एक दैनिकमा सूचना प्रकाशित गरी टेलिभिजनका सरसामान ३ दिनभित्र बुझाउनु भनी व्यवस्थापन पक्षबाट मानसिक तनाव दिने र चरित्र हत्या गर्ने काम भएको पत्रकारहरूले बताएको महासंघले जनाएको छ ।


महासंघले क्षमायाचना गर्न टेलिभिजनको व्यवस्थापनलाइ अाग्रह गरेको छ । उसले अन्यथा भए श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘श्रमजीवी पत्रकार ऐनलाई पूर्ण कार्यान्वयन ल्याउन महासंघले अभियान सञ्चालन गरिरहेको अवस्थामा पत्रकारलाई राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशित गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर छ । महासंघ सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गर्दछ । अन्यथा महासंघ श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य हुनेतर्फ पनि सचेत गराउँदछ ।’
एभिन्युज टेलिभिजनको व्यवस्थापनले विगतदेखि नै श्रमजिवी पत्रकारहरूलाइ दुःख दिने गरेको छ । त्यहाँ कार्यरत पत्रकारहरू तलबकै लागि पनि पटक पटक अान्दोलित हुँदै अाएका छन ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०९:०७












