अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौती कायमै छन्ः अर्थमन्त्री
४ चैत, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौतीहरू रहेको बताउनुभएको छ । बुधबार नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हाे ।
उहाँले भन्नुभयाे, ‘अहिले मुलुकका सामु सूचकहरूले सकारात्मक संकेत देखाएपनि ठूला चुनौतीहरू छन् । हामीसँग भएका निष्क्रिय लगानीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न सकेका छैनौँ । मध्यपूर्वकमा जारी युद्धले हाम्रो आपूर्ति श्रृखला अवरुद्ध हुने, आयातित वस्तुहरूको मूल्य बढ्ने र हाम्रो उत्पादनको लागत पनि बढ्न जाने देखिन्छ । यस्तो अवस्थामा द्रुत गतिमा निर्णय गर्नु पर्ने अवस्था समेत छ ।’
उहाँले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्ने बताउँदै बूढीगण्डकी जलविद्युत् आयोजनाजस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी बढाउन सकिने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
“अहिले शोधनान्तर र चालु खाता बचतमा छन्, गत आर्थिक वर्षको तुलनामा सरकारी राजस्व पनि बढेको छ”, उहाँले भन्नुभयो, “धेरै आर्थिक सूचकहरू सुधारोन्मुख छन् । अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण सिर्जना गर्नुपर्ने बेला आएको छ ।” उहाँले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विभिन्न अवकाश कोषमा लागिरहेको करको विषयमा पुनर्विचार गरिनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार १३:०२













