सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो
३ चैत, काठमाडौं । देशको सार्वजनिक ऋण दायित्व निरन्तर बढ्दो क्रममा देखिएको छ। हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल ऋण, आन्तरिक ऋण तथा बाह्य ऋण सबै क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष (आव) ८ महिना अर्थात् फागुन मसान्तसम्म सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो ८ महिनामा मात्रै २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ ऋणको भार थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा फागुन मसान्तसम्ममा सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ ।
कुल सार्वजनिक ऋणमा फागुनमसान्तसम्ममा आन्तरिक ऋणको हिस्सा २२.०७ अर्थात् १३ खर्ब ४८ अर्ब ११ करोड र वैदेशिक ऋणको हिस्सा २५.०६ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब १८ करोड रहेको छ ।
चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६७.३१ र २४.३१ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१.१० र १८.९० प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्व ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्व २६ करोड रुपैयाँ भुक्तानी भएको छ ।
प्रकाशित मिति : 14:46









