४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

४ चैत, चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्याकालीन सफारीको सम्भावना रहेकाले यसको अध्ययन तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय सक्रिय भएको छ ।

यहाँका सामुदायिक वनसँग आम्दानी र जैविक पर्यटनलाई जोड्न कार्यालयले अध्ययन थालेकोे हो । सोहीअनुरूप मङ्गलबार डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यसहित भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थी, शिक्षक, संरक्षणकर्मी तथा नेचर गाइडहरूको टोलीले सो क्षेत्रमा पदयात्रा (हाइकिङ) गरी अध्ययन र अवलोकन अघि बढाएको छ ।

पदयात्रा क्रममा यहाँ आवश्यक पूर्वाधार, वन्यजन्तु, चराचुरुङ्गी, बनस्पति, सुरक्षा व्यवस्था र भ्यू पोइन्ट व्यवस्थापनको अवलोकन गरिएको थियो । जिल्लाको इच्छाकामनाबाट सुरु हुने खगेरी खोला सिँचित क्षेत्रले जैविक पर्यटनका लागि सम्भावना प्रदान गरेको हुँदा यस क्षेत्रमा पदयात्रा र सन्ध्याकालीन सफारी महत्वपूण कार्य हुने सरोकारवालाहरूले बताएका छन् ।

डिभिजन प्रमुख आचार्यले यस विकासका लागि दूरदृष्टिसहित योजना बनाएर अघि बढेको बताउँदै उहाँले भन्नुभयो, “चितवनको पर्यटन भन्नासाथ सौराहा र कसरा मात्रै हेर्ने गरिन्छ, तर डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र रहेका सामुदायिक वन क्षेत्र राम्रो पर्यटन गन्तव्य हुन सक्छन् ।” उहाँले उक्त क्षेत्र ताल–तलैया, घाँसे मैदानको अवस्थाका कारण वन्यजन्तु व्यवस्थापन र पर्यटनका लागि नेपालको एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्ने बताउनुभयो ।

पर्यटनका लागि जिप सफारी सञ्चालन गरिएको छ । त्यहाँ हाइकिङ र सन्ध्याकालीन सफारी पनि गर्न सकिन्छ । यस क्षेत्रमा सन्ध्याकालीन सफारीका लागि नयाँ अभ्यास गर्न सकिन्छ । निकुञ्जमा सन्ध्याकालीन सफारी सम्भव नभएकाले यहाँ साँझको समयमा वन्यजन्तु अवलोकन गर्न सफारी सञ्चालन गर्न सकिने डिभिजन प्रमुख आचार्यले जानकारी दिनुभयो । सोहीअनुसार कार्ययोजना तयार पार्न लागिएको उहाँले बताउनुभयो ।

चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले सामुदायिक वनले रुख–दाउरा मात्रै बिक्री गरेर नभई फरक ढङ्गले पर्यटन प्रवर्द्धनमार्फत आम्दानी गर्ने उद्देश्यले जिप सफारी तथा पर्यटन गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँले वन कार्यालयसँगको समन्वयमा हाइकिङको सम्भावना अध्ययन गरिएको र यसबाट क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गुरुङका अनुसार यहाँ पर्यटकले रात बिताउन सक्ने गरी मचानघर निर्माण समेत गरिएको छ ।

उक्त क्षेत्रबाट बाघ, गैँडा लगायतका वन्यजन्तु अवलोकन गर्न सकिने तथा विभिन्न चराचुरुङ्गीसमेत देख्न पाइने उहाँले बताउनुभयो । डिभिजन वन कार्यलयले पर्यटन प्रवर्द्धनका लागि हौसला थप्दै सक्रियता देखाएकामा खुशी व्यक्त गर्दै, यस क्षेत्रको पर्यटन विकासका लागि आफूहरू सक्रिय रहने अध्यक्ष गुरुङले बताउनुभयो ।

पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णिप्रसाद बगालेले यहाँ सिमसार क्षेत्र, सिसौ वन, साल वन, खयर लगायत विभिन्न जडीबुटी भएको जङ्गल रहेको बताउनुभयो । उहाँले यो क्षेत्र राजमार्ग र सौराहा नजिक रहेकोले पर्यटकका लागि थप आकर्षक गन्तव्य हुन सक्ने बताउनुभयो । अध्यक्ष बगालेका अनुसार गत पुसदेखि यहाँ जिप सफारी सञ्चालन गरिएको छ र त्यसको सफलता देखिएकाले अब हाइकिङ र सन्ध्याकालीन जिप सफारीको सम्भावना छ । यसले पर्यटकका लागि नयाँ गन्तव्य सिर्जना गर्ने र वन उपभोक्ताका लागि थप आयको स्रोत बन्ने छ । पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिक वनमा सन्ध्याकालीन जिप सफारीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार ०७:२०