रास्वपाको अभिमुखीकरण सुरू, उद्घाटन सत्रमा छैनन् बालेन
३ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।ग्वार्कोको होटल रोयल दुलिपमा जारी कार्यक्रममा केही बेरअघि उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षणको उद्घाटन गर्नुभएकाे हाे ।
दुई दिनसम्म चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिने कार्यसूची रहेको छ।
उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह उपस्थित हुनुहुन्न । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।
प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १२:२४













