२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा

२ चैत, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ । राउतले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताउनुभएको हो ।

राउत यसपटक सप्तरी–२ मा प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्थ्यो। तर रास्वपा सांसद रामजी यादवसँग पराजित हुनुभयो। अघिल्लो पटक राष्ट्रिय पार्टी बनेको जनमत यसपटक थ्रेस होल्डसमेत कटाउन नसकेर खुम्चिन पुग्यो। संसदीय राजनीति नलडे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने बताउनुभएको छ ।

‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’

डा.राउतले आफ्ना विगतका दुई वटा संसदीय निर्वाचनका अनुभवहरू साझा गर्दै दुवै पटक व्यक्तिगत इच्छा विपरीत पार्टी र कार्यकर्ताको दबाबमा चुनाव लड्नु परेको बताउनुभएकाे छ । २०७९ सालको निर्वाचनमा आफू नलड्दा पार्टी राष्ट्रिय पार्टी नबन्ने खतरा देखिएपछि साथीहरूको सल्लाहमा निर्वाचन लडेको र त्यसले सकारात्मक परिणाम दिएको उहाँले बताउनुभएकाे छ ।

त्यस्तै, २०८२ को हालैको निर्वाचनमा पनि उम्मेदवार र कार्यकर्ताको मनोबल गिर्न नदिन अन्तिम समयमा मनोनयन दर्ता गरेको तर नतिजा आफ्नो पक्षमा नआए पनि उक्त निर्णयप्रति आफू सन्तुष्ट रहेको उहाँले बताउनुभएकाे छ । आफू पद र सत्ताको मोहमा फस्नुभन्दा अगाडि नै यो निर्णय लिएको भन्दै राउतले आगामी दिनमा जनमत पार्टीलाई स्थानीय र प्रदेश निर्वाचनको तयारी गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभएकाे छ ।

पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व प्रदान गर्ने तर व्यक्तिगत रूपमा कुनै पनि राजकीय पदको दौडमा नरहने उहाँको भनाइ छ।‘म सदैव तपाईंहरूको बीचमा नै रहनेछु, हरेक मोर्चा र संघर्षमा तपाईंहरूसँगै खडा हुनेछु, अधिकार र पहिचानको लडाईंमा सदैव भूमिका निर्वाह गर्नेछु,’ उहाँले लेख्नुभएकाे छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ११:२३