२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

चैत १० गतेदेखि आईपीओ निष्काशन गर्दै कालंगा हाइड्रो

२ चैत, काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सोमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नां ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने र ४ लाख ९० हजार कित्ता शेयर बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २४ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ९ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनस्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका, बझङ्ग र डिलासिनी गाउँपालिका, बैतडि शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १०:१६