चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्दै सानिगाड हाइड्रो
१ चैत, काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमूल्य १८ लाख ५२ हजार ५०० कित्ता सेयर अति प्रभावित क्षेत्र सुदूरपश्चिमत प्रदेश, बझाङ जिल्ला अन्तर्गतका बुंगल नगरपालिका वडा नं. १,२ र ४ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ भने बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाको वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड ७० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ७ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै पावर हाउस विरावगर, बुंगलबाट पनि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार ०९:३०










