जनताको विवेकको अपमान गर्ने एमालेको निर्णय र व्याख्या
१ चैत, काठमाडाैँ । नेकपा (एमाले)का पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीले चुनावी समिक्षाको नाममा जनमतको अपमान हुने निर्णय गरेको टिप्पणी गर्नुभएको छ । फेसबुक मार्फत टिप्पणी राख्दै पूर्व अर्थमन्त्री समेत रहनुभएको पाण्डेले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि “सबै ठीक थियो, हामीलाई त फसाइयो” भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो। मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला – तर अन्तर्घातले ५ – १० हजार मत तल-माथि होला। देखिएको ४०–५० हजारको मतान्तरलाई “फसाइएको” भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो।’

उहाँले अघि भन्नुभएको छ, ‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र “अरू असफल होलान् र फेरि हाम्रो पालो आउला” भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ।’
पाण्डेले सत्य बोल्ने कार्यकर्तालाई कारबाहीको धम्की दिएको पनि असहमति जनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘जब जनताले मतपत्रबाटै “अस्वीकार” को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा ‘कारबाही’ को धम्की दिनु कतिसम्म बुद्धिमानी होला? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने ‘नैतिक आधार’ अब नेतृत्वसँग कति बाँकी छ ?’

शनिबार भक्तपुरको गुण्डुमा रहेको अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सचिवालय बैठकले चुनावी समिक्षा समेत गरेको थियो । उक्त समिक्षामा सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने खालको निष्कर्ष निकालिएको थियो । त्यसमाथि पाण्डेले टिप्पणी गर्नुभएको हो ।
पिताको किरियामा रहनुभएको ओली बिहान ढिकुरो पूजाको सबै काम सकेर बैठकमा सहभागी हुनुभएको थियो । बैठकको जानकारी दिँदा उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक बसेको सार्वजनिक जानकारी गराउनुभएको थियो । एमालेको कानुन संशोधन गरेर सचिवालय बैठकमा सहभागी हुने हैसियत प्रदान गरिएका नेता विष्णु रिमाल भने बैठकमा देखिनुभएन ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार ०८:३७










