एमालेले असत्य र भ्रम भनेको विषयलाई मतदाताले सत्य ठहर्याइदिएः प्रदीप ज्ञवाली
३० फागुन, काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले एमालेले एमालेले असत्य र भ्रम भनेको विषयलाई मतदाताले सत्य ठहर्याइदिएको बताउनुभएको छ । शनिबार दिउँसो फेसबुकमा भावुक मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
एउटा रूखको चित्रसहित भावना राखेर उहाँले भन्नुभएको छ, ‘हामीले स्वीकार्नै पर्छ– हामीले स्थापित गर्न चाहेको सत्यलाई स्थापित गर्न सकिएन । अहिले मतदाताको बहुसङ्ख्याले हामीले असत्य र भ्रम भनेको विषयलाई सत्य ठहर्याइदियो ।’
यस्तो छ ज्ञवालीको टिप्पणी
प्रिय कमरेडहरु,
निर्वाचन परिणामसँगै नेकपा (एमाले) पङ्क्तिमा एकखालको अन्यौल र नैराश्य देखा परेको छ । प्रतिकूल परिणामका बिचमा यस्ता प्रतिक्रिया अस्वाभाविक होइनन् ।
हामीले व्यहोरेको धक्का इतिहासकै गंभीरतम मध्येको हो ।
त्यसो त, हामी असाध्यै असहज अवस्थामा निर्वाचनमा सहभागी भएका थियौँ । जुन पार्टीका ६४ भन्दा बढी कार्यालय ध्वस्त पारिएका थिए, जसका २ सय भन्दा बढी नेता कार्यकर्ताका घर खरानी बनाइएका थिए, जसका अध्यक्षलाई स्थान हद तोकेर केही दिन अगाडिसम्म काठमाडौँमै खुम्च्चाइएको थियो र जसका कार्यक्रमहरुमा बारम्बार धम्की, अवरोध र आक्रमण गरिएका थिए– त्यस पार्टीले निर्वाचनको सामना गर्नु आफैमा अदम्य साहस, लोकतन्त्रप्रतिको अविचलित निष्ठा र जनतामाथिको भरोसाको दृष्टान्त थियो ।
एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो ।
तर यस्तो धक्काको अनुमान भने थिएन । फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ ।
यसका धेरै कारणहरु छन् । आन्तरिक छन् । वाह्य पनि छन् ।
ती मध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका थिए होलान् । कति भने काबु बाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए ।
कतिपय नीतिगत विषय होलान् । कतिपय संरचनागत प्रश्न छन् । शैलीगत कारणहरु छन् । नेतृत्व पङ्क्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि छन् ।
यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । हुन्छ ।
यस्तो समीक्षाले मात्रै यस कठिन समयबाट अगाडि लैजान हामीलाई मार्गदर्शन गर्ने छ ।
समीक्षा गरिएन, ‘यो यस्तै हो‘ भनियो या अरुलाई मात्रै दोषारोपण गरियो भने सङ्कट झनै गहिरिँदै जानेछ ।
तर वृहत्तर अर्थमा यो कम्युनिष्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो ।
सुधारका विभिन्न विकल्प (नेतृत्व फेरबदल, पार्टीको नाम परिवर्तन, ठुलाठुला मोर्चाबन्दी, विद्रोह मार्फत् नयाँ पार्टी निर्माण आदि) रोजेका शक्तिहरुले पनि नराम्रो धक्का खाएका छन् ।
त्यसैले वर्तमान परिणामलाई आन्दोलनको समष्टिगत र फराकिलो परिदृश्यमा राखेर विवेचना गरिनु पर्छ ठान्छु ।
यस्तो अवस्थामा हामी ‘इमोशनल‘ भन्दा बढी ‘र् यासनल‘ हुनु जरुरी हुन्छ ।
हामीले स्वीकार्नै पर्छ– हामीले स्थापित गर्न चाहेको सत्यलाई स्थापित गर्न सकिएन ।
अहिले मतदाताको बहुसङ्ख्याले हामीले असत्य र भ्रम भनेको विषयलाई सत्य ठहर् याइदियो ।
नयाँ पुस्तासँग हाम्रो संवाद हुन सकेन, विश्वास स्थापित हुन सकेन ।
यस कुराको परीक्षण हुन, भ्रमको तुवाँलो हट्न र सत्य स्थापित हुन समय लाग्ने भयो ।
हामीले धैर्य गर्नुपर्छ । तर धैर्य मात्रै गरेर पुग्दैन ।
सत्य स्थापित गर्न कष्टसाध्य प्रयत्न गरिरहनु पर्छ ।
त्यतिञ्जेल हामी अडिइरहन सक्नु पर्छ । बालकृष्ण समको कविताको यस अंशले भने जस्तै–
पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा
पालुवा त्यसमा अर्कै त्यो वसन्त पलाउला ।
एउटा ऐतिहासिक आवश्यकताले नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको हो । यसका जरा नेपाली समाजमा गहिरो गरी गडेका छन् । राष्ट्रिय स्वाधीनता र स्वाभिमान, जनमुखी लोकतन्त्र, सामाजिक न्याय र सुरक्षा, समृद्धि र समानता जस्ता यसले उठाएका झण्डाहरु कहिल्यै लत्रिने छैनन् ।
ढल्नु भनेको सकिनु होइन । फेरि उठ्नका लागि तयारी थाल्नु हो ।
आउनुहोस्– फेरि उठ्ने तयारी थालौँ ।
यसका लागि समस्या र सङ्कटलाई सामूहिकतामा बोध गरौँ ।
निर्मम आत्मसमीक्षा गरौँ र समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय गरौँ ।
सामूहिक निर्णय र जवाफदेहितालाई स्थापित गरौँ ।
आन्दोलनको हित र भविष्य नै सर्वोपरि हो ।
प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार १३:३४










