नबिल बैंकको निक्षेप र कर्जामा नयाँ ब्याजदर सार्वजनिक
३० फागुन, काठमाडौँ । नबिल बैंकले निक्षेपतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आइतबार सूचना जारी गर्दै भोलि १५ मार्च २०२६ (चैत १, २०८२) देखि लागू हुने गरी बचत तथा मुद्दती निक्षेपका नयाँ ब्याजदर निर्धारण गरेको जनाएको छद ।
बैंकका अनुसार सामान्य बचत खातामा वार्षिक २.७५ प्रतिशत ब्याजदर कायम गरिएको छ । नबिल जनरल सेभिङ, नारी बचत, ज्येष्ठ बचत, बाल बचत, सामाजिक सुरक्षा बचत लगायत अधिकांश बचत खातामा समान २.७५ प्रतिशत ब्याजदर रहनेछ । यस्तै नबिल गोल्ड सेभिङ, कर्पोरेट सुपर सेभिङ, गोल्ड पेरोल सेभिङ र ढुक्क बचत खातामा २.८० प्रतिशत ब्याजदर तोकिएको छ।
त्यसैगरी नबिल प्रिमियम रेमिट्यान्स सेभिङ खातामा ३.८० प्रतिशत ब्याजदर उपलब्ध गराइने बैंकले जनाएको छ । मुद्दती निक्षेपतर्फ व्यक्तिगत निक्षेपमा अवधि अनुसार फरक–फरक ब्याजदर निर्धारण गरिएको छ । बैंकका अनुसार ३ महिनादेखि ६ महिनाभन्दा कम अवधिका लागि २.८० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म २.८५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ३ प्रतिशत, २ वर्षदेखि ५ वर्षसम्म ३.२५ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म ४ प्रतिशत र १० वर्षभन्दा माथि ४.५५ प्रतिशत ब्याजदर कायम गरिएको छ।
रेमिट्यान्सबाट आएको रकमको मुद्दती निक्षेपमा भने सामान्यभन्दा १ प्रतिशतसम्म बढी ब्याजदर पाइने बैंकले जनाएको छ। संस्थागत मुद्दती निक्षेपतर्फ ६ महिनादेखि १ वर्षसम्म २.७५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म २.७५ प्रतिशत, २ वर्षदेखि ५ वर्षसम्म ३ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म ३.२५ प्रतिशत तथा १० वर्षभन्दा माथि ३.५५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।
विदेशी मुद्रामा राखिने निक्षेप (एफसीवाई) तर्फ अमेरिकी डलर बचत खातामा १.५ प्रतिशत, विशेष बचतमा १.७५ प्रतिशत र एलिट बचत खातामा २.२५ प्रतिशत ब्याजदर तोकिएको छ । अमेरिकी डलरमा मुद्दती निक्षेपमा भने ३ देखि ६ महिनासम्म ३.२५ प्रतिशत, ६ देखि १२ महिनासम्म ३ प्रतिशत र १२ महिनाभन्दा माथि २.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ।
यस्तै अन्य विदेशी मुद्रा खातामा जीबीपी बचतमा १.५ प्रतिशत, यूरोमा ०.२५ प्रतिशत तथा जापानी येन र अष्ट्रेलियन डलरमा ०.१० प्रतिशत ब्याजदर कायम गरिएको छ।
बैंकका अनुसार व्यक्तिगत मुद्दती निक्षेपका लागि न्यूनतम अवधि ३ महिना तथा संस्थागत निक्षेपका लागि ६ महिना तोकिएको छ। गैरआवासीय नेपाली (एनआरएन) का लागि न्यूनतम एक वर्षे मुद्दती निक्षेपमा अमेरिकी डलरमा ३.५० प्रतिशत, जीबीपी र एयूडीमा २.२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
यसैबीच बैंकले कर्जातर्फ पनि विभिन्न क्षेत्रका लागि नयाँ ब्याजदर लागू गरेको छ । बैंकका अनुसार व्यवसायिक कर्जातर्फ ऊर्जा, कृषि, साना तथा मझौला उद्योग (SME) लगायतका क्षेत्रमा आधार दरमाथि करिब ०.२५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम लाग्नेछ ।
कार्यशील पूँजी कर्जातर्फ कर्पोरेट, एसएमई तथा ठेक्का व्यवसायका लागि ०.५० प्रतिशतदेखि ३.७५ प्रतिशतसम्म प्रिमियम निर्धारण गरिएको छ। यस्तै ट्रेड तथा आयात कर्जा, छोटो अवधिका कर्जा (STL), स्ट्रक्चर्ड छोटो अवधि कर्जा तथा च्यानल फाइनान्सिङ जस्ता विभिन्न कर्जामा पनि फरक–फरक प्रिमियम तोकिएको बैंकले जनाएको छ।
रिटेल कर्जातर्फ हाउजिङ लोन, सुपर हाउजिङ, अफोर्डेबल हाउजिङ, मोर्गेज लोन लगायतमा करिब ०.५० प्रतिशतदेखि ३.२५ प्रतिशतसम्म प्रिमियम लाग्नेछ। यस्तै सवारी साधन कर्जामा निजी सवारीका लागि १ देखि ३ प्रतिशत, व्यावसायिक सवारीका लागि २.५ देखि ४ प्रतिशत तथा ट्र्याक्टर कर्जामा ३ देखि ४ प्रतिशत सम्म प्रिमियम रहनेछ।
शिक्षा कर्जामा भने ३ देखि ५ प्रतिशतसम्म प्रिमियम तोकिएको बैंकले जनाएको छ। बैंकका अनुसार यी सबै ब्याजदरहरू आधार दर (Base Rate) माथि थपिने प्रिमियमका रूपमा लागू हुनेछन्। बैंकले ग्राहकले थप जानकारीका लागि आफ्नो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने जनाएको छ।
प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार ०९:१९










