२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

स्नो रिभर्सले चैत १२ गतेदेखि आइपीओ निष्कासन गर्ने

२८ फागुन, काठमाडाैं । स्नो रिभर्स लिमिटेडले आगामी चैत १२ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न लागको हो ।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितले आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ताका लागि र अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत २३ गते र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा वैशाख ८ गते निष्काशन बन्द हुनेछ भने वैदेशिक रोजगारतर्फको आईपीओ निष्काशन बन्द छिटोमा चैत १२ गते र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा चैत २३ गते निष्काशन बन्द हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावितले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८, याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंक लिमिटेडको सिरिजङ्गा शाखा, एनएमबि बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको फुङलिङ शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १०:०३