२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

वित्तीय कारोबार गर्दा कागजपत्र बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

२६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कागजात राम्रोसँग बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वित्तीय साक्षरता बढाउने उद्देश्यले सार्वजनिक गरिएको सूचनामा बैंकले यस्तो आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्षले निश्चित सर्तहरूमा आधारित भएर वित्तीय कारोबार गर्ने भएकाले ती सर्तहरूको पूर्ण पालना गर्नु कानुनी दायित्व हुन्छ। त्यसैले ग्राहकले वित्तीय सेवा लिनुअघि कागजातमा उल्लेखित सर्तहरू राम्रोसँग पढ्न र बुझ्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई कुनै कुरा अस्पष्ट भएमा सेवा प्रदायकसँग स्पष्ट रूपमा सोध्न र हस्ताक्षर गरिएको कागजातको एक प्रति सुरक्षित राख्न पनि सुझाव दिएको छ। साथै, ग्राहकले सर्त बुझ्न प्रश्न सोध्ने अधिकार राख्ने र सर्तहरू बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुने बैंकले जनाएको छ ।

नियमअनुसार वित्तीय सेवा प्रदायकले ग्राहकलाई कारोबारसम्बन्धी सबै विवरण स्पष्ट रूपमा उपलब्ध गराउनुपर्ने र ग्राहकका जिज्ञासाको सही तथा सरल जवाफ दिनुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १२:३४