आफ्नै वडामा जित्न नसकेका पाण्डेले आफूलाई हराउने विजेतालाई दिएनन् बधाई
२६ फागुन, नुवाकोट । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ मा पराजित हुनुभएको केशवराज पाण्डेले विजयी उम्मेदवारको नाम लिनै अफ्ठेरो मान्नुभएको छ ।
पाण्डेको नाममा फेसबुक मार्फत जारी धन्यवाद सन्देशमा पाण्डेले आफूलाई पराजित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा अच्युतम लामिछानेको नाम लिन अफ्ठेरो मान्नुभएको हो । सामान्यतया प्रतिस्पर्धी उम्मेदवारले विजयीलाई बधाई दिने प्रचलन छ । यही निर्वाचनमा पनि पाण्डे आवद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफूलाई पराजित गर्नेलाई नाम र तस्बिर नै राखेर बधाई दिनुभएको छ । तर पाण्डेले भने अच्युतमको नाम लिनै नचाहेको देखिएको छ ।
उहाँले बधाई सन्देशमा भन्नुभएको छ, ‘लोकतान्त्रिक प्रक्रियामा सहभागी भई विजयी हुनु भएका सबै उम्मेदवारहरूलाई बधाई दिँदै, यही सम्बन्ध र संवादलाई हामी अघि पनि जारी राख्नेछौँ।’ पाण्डेले विजयी हुनु भएका सबै उम्मेदवारहरू भनेर अच्युतमको नामै नलिइ सामान्यीकरण गर्नुभएको छ ।
पाण्डेले निर्वाचनमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ जहाँबाट आफूले मतदानमा सहभागिता जनाउनुभएको थियो सोही वडामा समेत जित्न सक्नुभएको थिएन । पाण्डेले आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि वडामा प्रतिस्पर्धी उम्मेदवार भन्दा धेरै मत प्राप्त गर्न सक्नुभएन ।
यस्तो छ पाण्डेको फेबसुक टिप्पणी
प्रिय दिदीबहिनी, दाजुभाइ तथा सम्माननीय नुवाकोटवासीहरू,
यस निर्वाचनमा तपाईंहरूले देखाउनुभएको साथ, विश्वास र आत्मीयताका लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। परिणाम हाम्रो पक्षमा आएन, तर तपाईंहरूको भरोसा र माया मेरो लागि अत्यन्त मूल्यवान् छ।
चुनाव केवल जित र हारको कुरा मात्र होइन। घरदैलोमा भेटिएका अनुहारहरू, युवाहरूको आशा, अभिभावकहरूको अनुभव र समाजको अपेक्षाले मलाई अझ स्पष्ट बनाएको छ। हाम्रो काम चुनावसँगै समाप्त हुँदैन।
नुवाकोटको विकास, युवाहरूका अवसर, शिक्षा र सम्मानित जीवनका लागि प्रयास निरन्तर रहनेछ। पदभन्दा ठूलो कुरा समाजप्रति हाम्रो जिम्मेवारी हो, र त्यो जिम्मेवारी हामीले निरन्तर निभाइरहनेछौँ।
तपाईंहरूले दिनुभएको सुझाव, आलोचना र साथ सबैका लागि म कृतज्ञ छु। साथै, लोकतान्त्रिक प्रक्रियामा सहभागी भई विजयी हुनु भएका सबै उम्मेदवारहरूलाई बधाई दिँदै, यही सम्बन्ध र संवादलाई हामी अघि पनि जारी राख्नेछौँ।
हामी सँगै सोचौँ, सँगै काम गरौँ, र हाम्रो समाज तथा देशलाई अझ राम्रो बनाउने यात्रामा अघि बढौँ।
धन्यवाद।
केशव राज पाण्डे
प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार ०९:०२










