२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो छः विष्णु रिमाल

२६ फागुन, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली नेता विष्णु रिमालले पार्टीका उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो रहेको बताउनुभएको छ । मंगलबार बिहानै फेसबुक मार्फत उहाँले प्रतिनिधिसभा निर्वाचनमा विजयीहरूलाई बधाई दिँदै भन्नुभएको छ, ‘विभिन्न चुनौतीहरूका बीच एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो छ।’

एमालेले जितेको ९ सिटको खुशी बाँड्दै उहाँले यो चुनाव अन्तिम नरहेको बताउनुभएको छ । उहाँले एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्ने उद्घोष गर्नुभएको छ । स्मरणीय के छ भने फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा रिमालले घरदैलो गरेर मत मागेको र मतदान गरेको काठमाडौँ क्षेत्र नम्बर १ मा भने एमालेको जमानत समेत जफत भएको छ । ४८ हजार ४ सय ८९ मतदाता रहेको काठमाडौँ १ मा करिब २८ हजार मत खसेको थियो । एमाले उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत पाउनुभएको छ । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ।

यस्तो छ उहाँको टिप्पणी

यो चुनाव अन्तिम होइन।
संखुवासभाको परिणाम यसपटकको निर्वाचनको अन्तिम परिणाम मात्र हो।
एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन।
एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ।
विभिन्न चुनौतीहरूका बीच एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो छ।
सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधिसभाको यस निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। ✊🌞🇳🇵

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार ०७:३३