२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

धनुषा–१ मा तत्काल अन्तिम मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

२५ फागुन, काठमाडाैँ । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम तत्काल घोषणा नगर्न आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निवेदक किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।

रिटमा निर्वाचन आयोग नेपाललाई विपक्षी बनाइएको छ। अदालतले रिट निवेदनसँग सम्बन्धित कागजात अध्ययन गरी निवेदक पक्षका कानुन व्यवसायीले राखेको बहस समेत सुनेपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा कारण देखाउन विपक्षीसँग लिखित जवाफ माग गरेको छ।

अदालतले आदेशमा भनिएकाे छ, ‘आदेश जारी हुने वा नहुने विषयमा टुंगो नलागेसम्म सम्बन्धित निर्वाचन अधिकृतलाई मतगणनाको अन्तिम परिणाम घोषणा नगर्न जानकारी गराउनुपर्ने देखिन्छ।’

साथै सर्वोच्च विपक्षी पक्षलाई आदेश प्राप्त भएको मितिले सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न पनि निर्देशन दिएको छ। अन्तरिम आदेश दिने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित गराई पुनः सुनुवाइ गर्ने पनि आदेशमा उल्लेख गरिएको छ।

यो आदेशसँगै धनुषा–१ को मतगणनाको अन्तिम परिणाम घोषणा प्रक्रिया हालका लागि रोकिएको छ।

प्रकाशित मिति : 17:16