राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, अब को बन्ला ?
२५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त भएको छ । आइतबारदेखि डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त भएको हो ।
उहाँहरू दुवै २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ।डेपुटी गभर्नर पद रिक्त भएसँगै राष्ट्र बैंकभित्र सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर नियुक्ति कार्यकारी निर्देशकमध्येबाटै गर्नुपर्ने व्यवस्था रहेकाले जसअनुसार गभर्नरको सिफारिसमा सरकारले नियुक्ति गर्नुपर्छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुमध्ये गभर्नर विश्व पौडेलले कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। राष्ट्र बैंकको प्रावधान अनुसार डेपुटी गभर्नर बन्नका लागि पहिले कार्यकारी निर्देशकको रूपमा काम गरेको हुनुपर्ने व्यवस्था छ। यस आधारमा हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक डेपुटी गभर्नर पदका सम्भावित प्रत्यासी बनेका छन्।
कार्यकारी निर्देशक नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा। सत्येन्द्र तिमिल्सिना, चेतप्रसाद उप्रेती, रोशन कुमार सिग्देल, रामशरण खरेल, डिल्लीराम पोखरेल, दीर्घ बहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दिपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई डेपुटी गभर्नरका लागि योग्य रहनुहुन्छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १४:२२










