२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

विकसित नेपाल बनाउन रवि र बालेनलाई सफलता मिलोस्ः जनार्दन शर्मा

२५ फागुन, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले प्रतिनिधिसभा निर्वाचन २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन् ।

आज भिडियो सन्देश जारी गर्दै शर्माले रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र विजयी सांसदहरूलाई बधाई दिनुभएकाे  हाे । गृह जिल्ला रुकुम पश्चिमबाट लगातार चार चुनाव जित्नुभएका शर्मा यसपटक आफ्नै पूर्वपार्टी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मासँग पराजित हुनुभएकाे छ ।

उहाँले फेसबुकमा भिडियो पोस्ट गर्दै विजयी उम्मेदवार शर्मालाई पनि बधाई दिनुभएकाे छ । गरिबी, बेरोजगारी र समृद्ध रुकुम बनाउने रुकुमेली जनताको चाहना पूरा गर्न उहाँले शर्मालाई सुझाव दिनुभएकाे छ ।

उहाँले भन्नुभएकाे छ, ‘रुकुमका सबै राजनीतिक पार्टीहरूलाई रुकुम एकीकृत विकास योजनाको दोस्रो चरणलाई पूरा गरी रुकुमलाई सामाजिक न्याय र समानता युक्त एउटा समाज निर्माण गर्न समृद्ध रुकुम निर्माण गर्न यहाँहरू सबै एकताबद्ध भएर योगदान गर्नुहुनेछ भन्ने विश्वास छ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १४:०१