मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति
२५ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा १ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ ।
२१ फागुनमा भएको मतदानपछि धनुषा १ मा मतगणना भइसकेको छ । तर, आयोगले गणना सार्वजनिक गरेको छैन । यहाँबाट उम्मेदवार रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । तर, मतपत्रमा रास्वपाको चुनाव चिह्नमा बहुमत मत प्रकट भएको छ ।
उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन हुँदा यहाँबाट नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित हुनु पर्नेमा आयोग मौन बसेपछि नेकपाले ध्यानाकर्षण गराएको हो । नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसक्दा पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको बताउनुभएकाे छ ।
‘धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १२:३६










