२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

नेप्सेमा लाग्यो तेस्रो सर्किट, आजको कारोबार बन्द

२५ फागुन, काठमाडौं । चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा उच्च मनोबल देखिएको छ । सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाई २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा पनि उछाल आएसँगै फेरि एक मिनेटमै अर्को १ प्रतिशत विन्दू अर्थात कुल ५ प्रतिशतले नेप्से बढेर ४० मिनेटका लागि कारोबार  स्थगित भएकाे थियाे ।

त्यसपछि खुलाइएको बजार फेरि अर्को एक मिनेटमा थप १ प्रतिशत अर्थात कुल ६ प्रतिशतले बढेपछि तेश्रो सर्किट लगाएर आजका लागि कारोबार स्थगित भएकाे छ । यस दिन नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ को विन्दुमा पुगेकाे छ । आज २६१ कम्पनीको ११ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १२:१०