निर्वाचनको परिणामपछि योगेश भट्टराईले भने, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ
२५ माघ, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पाएको कमजोर नतिजापछि गम्भीर आत्मसमिक्षा र खुला बहस आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले निर्वाचन परिणामलाई जनताले पार्टीको नीति र नेतृत्वप्रति दिएको शान्तिपूर्ण अस्वीकृति भएको बताउनुभएको छ। “कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ,” भन्दै उहाँले सही नीति, सही संगठन, सही नेतृत्व र सही कार्यशैलीमार्फत पार्टी पुनः उठ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
निर्वाचन परिणामपछि तीन दिनयता करिब हजार जनासँग फोनमा कुराकानी गरेको उल्लेख गर्दै भट्टराईले त्यत्तिकै संख्यामा आएका सन्देशहरू पनि अध्ययन गरेको बताउनुभएको छ। ती कुराकानीमा पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूबाट सुझाव, आलोचना, आक्रोश, निराशा र सम्भावनासम्बन्धी विविध धारणा आएको उहाँले उल्लेख गगर्नुभएको छ ।
भट्टराईले पार्टीभित्र विगत भदौ २३ र २४ पछि लिइएका नीतिहरू सही नभएको भन्दै त्यसमा सुधार गर्न पटक–पटक नेतृत्वसमक्ष आग्रह गरिएको तर सफल हुन नसकेको बताउनुभएको छ। अब पुनः पार्टीभित्र खुला छलफल र बहस सुरु गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ ।

भट्टराईले पार्टीको वर्तमान अवस्था कुनै एक व्यक्तिको मात्र नभई सिंगो पार्टीको सामूहिक असफलता भएको उल्लेख गर्दै जिम्मेवारीमा रहेका सबै तहका समिति र नेताहरूले यसको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । विशेषगरी केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले नीतिगत र कार्यकारी भूमिकाका कारण सफलतासँगै असफलताको भार पनि वहन गर्नुपर्ने उहाँको भनाइ छ।
भट्टराईले पार्टीभित्र रहेका पुराना गुट–समूहको घेराबाट बाहिर निस्केर खुला र स्पष्ट बहसमा सहभागी हुन सम्पूर्ण नेता–कार्यकर्ता तथा सदस्यहरूलाई आह्वान गर्नुभएको छ। साथै पार्टी, जनसंगठन र प्रवासमा रहेका कमिटी तथा सदस्यहरूलाई आफ्ना सुझाव र धारणा नेतृत्वसमक्ष पठाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
भट्टराईले राजनीतिक दल सार्वजनिक संस्था भएकाले पार्टीबारे सुझाव, आलोचना र टिप्पणी दिन बुद्धिजीवी तथा आम जनसमुदायलाई समेत आग्रह गर्नुभएको छ ।
उहाँले राष्ट्रिय एकता, नेपाली सार्वभौमिकता तथा वाम–लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार भएको उल्लेख गर्दै जनादेशको सम्मान गर्दै सकारात्मक सहकार्यको वातावरण बनाउन सबै राजनीतिक शक्तिलाई अपिल समेत गर्नुभएको छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १३:५०










