२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

२५ फागुन, काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँड गरिनेछ। त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरुमा बाँडफाँड गरिनेछ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०९:११