२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

सामाजिक सञ्जालको नियोजित प्रयोगका कारण पराजित हुनुपर्योः डा प्रकाशशरण महत

२५ फागुन, नुवाकोट । नेपाली कांग्रेसका नेता डा प्रकाशरण महतले स्थापित पार्टीहरू प्रति मतदाताहरूको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोगका कारण पराजित हुनुपरेको बताउनुभएको छ ।

dainiki.com

सोमबार बिहान सामाजिक सञ्जाल मार्फत डा महतले यस पटकको आम निर्वाचनमा अस्वाभाविक परिणाम देखिएको बताउनुभएको छ । उहाँले निर्वाचनमा पराजित भए पनि नुवाकोट १ को विकास र जनताको सेवामा सधैँझैँ लागिरहने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

यस्तो छ महतको टिप्पणी
यस पटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पार्टीहरू प्रति मतदाताहरूको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग, भदौ २३ गतेको घटनाको प्रभाव लगायतका धेरै कारणहरू छन्। यसको विश्लेषण हुने नै छ।

नेपाली कांग्रेस पार्टी यो प्रभावबाट अछुतो रहेन। नुवाकोट–१ मा पनि यसको प्रभाव रह्यो। यस्तो प्रतिकूलताका बाबजुद पनि प्रतिस्पर्धी मत दिएर म र मेरो पार्टीलाई विश्वास गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु र धन्यवाद दिन चाहन्छु। यस क्षेत्रको विकास र जनताको सेवामा सधैंझैँ लागिरहने नै छु।

चुनाव प्रचार–प्रसार अभियानमा अहोरात्र खटिने सम्पूर्ण पार्टीका साथीहरू, शुभचिन्तक र समर्थक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । निर्वाचित रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सेनालाई बधाई र शुभकामना व्यक्त गर्दछु।
धन्यवाद।
जय नेपाल!

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०८:५६