कमरेडहरू, पार्टीको कवाडसम्म बेच्न तयार भएकाहरूलाई अब रोक्नुहोस्
कमरेडहरू !
‘एन्ड अफ हिस्ट्री’ होइन ‘प्रिजन नोटबुक्स’
सोभियतको विघटन र बर्लिनको पर्खाल ढलेपछि फ्रान्सिस फुकुयामाले सन् १९८९ ‘द नेसनल इन्ट्रेस्ट’ भन्ने जर्नलको १६ औं अंकमा एउटा लामो लेख ‘इतिहासको अन्त्य’ एन्ड अफ हिस्ट्री ।’ अर्थात् विचारधाराको अन्त्य भएको दाबी गरे । ‘उदार लोकतन्त्र नै संसार जोड्ने अन्तिम दर्शन’ भएको उनको दाबी थियो । १९९२ मा उनीहरुले उही शिर्षकमा पुस्तक नै लेखे, ‘एन्ड अफ हिस्ट्री ।’ उदारवादी लोकतन्त्र र खुला बजार अर्थतन्त्र नै मानव जातिको वैचारिक विकासको अन्तिम विन्दु भएको दाबी गरे । तर उनको दाबीसँग विश्वको विकास मेल खाएन ।

चीनको उदय, कट्टरपन्थी इस्लाम, र लोकतन्त्रको क्षयीकरण सुरु भयो । त्यसपछि फ्रान्सिस फुकुयामाले स्वीकार गरे, ‘विचारधाराको अन्त्य भएको छैन ।’ फ्रान्सिस फुकुयामाले विचारको ‘मृत्यु’ भएको छैन भन्ने बोध सन् २०१४ मा आएर गरे । अनि उनले दुई पुस्तक लेखे । सन् २०१४ मा अर्को पुस्तक लेखे, ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’ र २०१८ मा ‘आइडेन्टिटी पोलिटिक्स ।’
ठिक यो बेला फ्रान्सिस फुकुयामाले सुरुमा गरेको दाबी जस्तो अहिले शहरमा दाबी सुनिन्छ । यो बेला एन्टोनियो ग्राम्सीको ‘प्रिजन नोटबुक्स’ पढ्नुहोस् । पुरानो मरिरहेको तर नयाँ जन्मिन नसेको संक्रमणकालीन समय हो । ग्राम्सी भन्छन्, ‘संकट ठ्याक्कै यसैमा निहित छ कि पुरानो मर्दैछ र नयाँ जन्मिन सकिरहेको छैन । यस अन्तरालमा धेरै प्रकारका विकृत लक्षणहरू देखा पर्छन्।’ विकृत लक्षणहरू (Morbid Symptoms) अर्थात् लोकप्रियतावाद, कट्टरपन्थी सोच र अराजकताको समय । पुरानोसँग अर्थात् जनताको विश्वास टुट्छ । पुरानो व्यवस्थामा जनताको ‘सहमति’ (Consent) हराउँछ। मानिसहरू हतास भएर ‘चामत्कारिक’ नेता वा उग्र नाराहरूको पछि लाग्न थाल्छन्।
अहिले भएको त्यही हो, ओली, देउवाहरुप्रतिको विश्वास समय टुटेको समय हो । ‘चामत्कारिक’ नेताको खोजी भएको समय हो । नयाँ विचार कसरी जन्मिन सक्छ त ? ग्राम्सीका अनुसार नयाँ विचार तब मात्र जन्मिन्छ जब त्यसले समाजका विभिन्न वर्गलाई जोड्न सक्छ। यसका लागि ‘सांस्कृतिक संघर्ष’ आवश्यक छ। बौद्धिक तयारी अर्थात् ‘नयाँ विचारका लागि ‘अर्गानिक इन्टेलेक्चुअल्स’ जनस्तरबाट आएका बौद्धिकहरूले काम गर्नुपर्छ। उनीहरूले नयाँ ‘कमन सेन्स’ (Common Sense) निर्माण गर्छन्। यदि यो तयारी भएन भने, पुरानो व्यवस्था ढले पनि झन् खराब व्यवस्था आउन सक्छ। झन् खराब व्यवस्था आउन नदिन ‘अर्गानिक इन्टेलेक्चुअल्स’हरुले अब तयारी थाल्नुहोस् !
मार्क्सवाद अजेय छ । लेनिन भन्छन्, ‘मार्क्सको शिक्षा अजेय छ, किनभने यो सत्य छ।’ लेनिनले भने जस्तो ‘मजदुर आन्दोलनभित्र लुकेको पुँजीवादको एजेन्ट’को बिदाई जरुरी छ । तर हामी कहाँको खतरा आफ्ना घरेलु भाईछोरा अर्थात् ‘भावी सन्तती’का लागि दाम जोड्न पार्टीको कवाडसम्म बेच्ने खतरा उस्तै छ । कमरेडहरु, पार्टीको कवाडसम्म बेच्न तयार भएर बसेकाहरुलाई अब रोक्नुहोस् ।
नोटः नेकपा एमालेका नेता राजेश राईले फेसकुब मार्फत गरेको अपिल यहाँ साभार गरिएको हो – सम्पादक
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०८:३३










