२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफलः कानुनमन्त्री सिन्हा

२४ फागुन, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भएको बताउनुभएको छ ।

आज निर्वाचन आयोगमा भएको समीक्षा बैठकपछि उहाँले विषम अवस्थामा निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारले मुख्य काम सम्पन्न गरेको बताउनुभयो । सुरक्षा निकायको समन्वय र सरकारले स्रोत, साधनको समयमै व्यवस्था गरिदिएर निर्वाचन सम्पन्न गराउन सहयोग गरेको मन्त्री सिन्हाको भनाइ थियो ।

“विभिन्न खालका दबाब आउँदा पनि आयोगले निर्वाचन कार्यतालिकामा हेरफेर नगरी काम गरेर समयमै निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेको छ,” उहाँले भन्नुभयो, “निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलसँग समन्वय भएको थियो ।” उहाँले मतदानअघि सुरक्षा निकायलाई स्वार्थ अनुकुल परिचालन नगरे राम्रो परिणाम निस्कन्छ भन्ने यो निर्वाचनबाट देखिएको समेत उल्ेख गर्नुभयो ।

मन्त्री सिन्हाले निर्वाचनबाट असल संस्कृतिको सुरुवात भएको बताउनुभयो । अब बन्ने सरकारले बदलाको भावनाले काम नगरी जनतालाई सहज सेवा दिई आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने उहाँको सुझाव छ ।

नयाँ संसद् भवनमा संसद्को पहिलो बैठक

निर्वाचित सांसदको बैठक बोलाउन संसदीय मामिला मन्त्रालयले न्यूनतम् आवश्यकता पूरा गर्ने मन्त्री सिन्हाले बताउनुभयो । सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद् भवनमै संसद्को पहिलो बैठक बोलाउने गरी तयारी भइरहेको पनि मन्त्री सिन्हाले जानकारी दिनुभयो । भोलिदेखि नै संसद्को अधिवेशन तयारीका लागि थप काम गरिने जानकारी पनि उहाँले बताउनुभयो ।

समीक्षा बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर राणा, आयोगका सचिव कृष्णबहादुर राउत, सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १६:२१