२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

निर्वाचनमा भ्रमपूर्ण दुष्प्रचार र चरित्रहत्याको परिचालित अभियान हावीः सूर्य थापा

२३ फागुन, काठमाडाैँ । नेकपा (एमाले)का नेता सूर्य थापाले प्यूठानमा प्रतिनिधिसभा सदस्य पदमा पराजित भएपछि विजयी उम्मेदवारलाई बधाई दिँदै निर्वाचनमा भ्रमपूर्ण दुष्प्रचार र चरित्रहत्याको परिचालित अभियान हावी भएको बताउनुभएको छ ।
dainiki.com
फेसबुक मार्फत थापाले भन्नुभएको छ, ‘यस चुनावमा विकासको काम, उम्मेद्वार र पार्टीका एजेण्डा, सामाजिक न्याय र समृध्दिको तुलनात्मक बहसभन्दा भ्रमपूर्ण दुष्प्रचार र चरित्रहत्याको परिचालित अभियान हावी र प्रभावी भएको छ। हामीलाई यसमा पनि कुनै दु:ख लागेको छैन।’

यस्तो छ उहाँको पूरा सन्देश
बधाई तथा शुभकामना
आभार एवं धन्यवाद-
प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट विजयी सुशान्त वैदिकलाई बधाई ज्ञापन गर्दै वाचाबमोजिमको सफल कार्यसम्पादनको लागि शुभेच्छा प्रकट गर्दछौं।
०००
२०७९ साल मंसिर ४ गतेको निर्वाचनमा पाँच दलीय घोषित गठबन्धनलाई पराजित गरेर हामीले चमत्कारिक विजय हासिल गरेका थियौं। यसपाली घोषित रूपमा त्यस्तो कुनै खुला गठबन्धन नभई १४ जना उम्मेद्वार छुट्टाछुट्टै चुनावी मैदानमा थियौं।अन्तिम घडीमा हाम्रो विजयलाई रोक्न लोकतान्त्रिक प्रतिस्पर्धाको मर्यादाविपरित गुपचुप भोट लिनेदिने ‘म्याच फिक्सिङ’को अभ्यास गरिएको तथ्य मतगणनाका क्रममा स्पष्ट भएको छ।

प्राय:सबै हाम्राविरूद्द चुनावका क्रममा अनुचित प्रहार र निशाना ताक्नै सक्रिय रहेको कुरा पनि सार्वजनिक नै छ। देशमा केपी शर्मा ओली र प्युठानमा हाम्राविरूद्दको हमला, दुष्प्रचार र अनर्गल गालीगलोजको त कुनै सीमा नै रहेन। तथापि हामीले आफ्नो मत सुरक्षित गर्न नसकेका कारण परिणाम अकल्पनीय रूपमा आएको छ। निर्वाचनको करिब ५० दिन लामो महाअभियानमा देश/विदेशबाट र सिंगो जिल्लाभरि हामीलाई साथ दिने सबैप्रति आभारी छौं र धन्यवाद पनि दिन चाहन्छौं।

चितवनबाट गाली गर्नकै लागि प्युठानसम्म आएर हामीलाई निशाना साँध्दै फर्केका ‘सभापति’लगायत निरन्तर अपमान र सत्तोसराप गरेर नथाकेका प्रतिस्पर्धी मित्रहरूको मेहेनत लोभलाग्दो नै रह्यो। विशेषगरी सहकारीसम्बन्धी संसदीय छानविन विशेष समितिको सभापतिका हैसियतमा गरेको उदाहरणीय छानविन र राष्ट्रिय जिम्मेवारी सर्वसम्मतिका साथ बहन गरेको परिणामस्वरूप नियोजित हमला खेप्नुपरेकोमा हामीलाई कुनै पर्वाह र पश्चात्ताप पनि छैन।

खासमा २०८२ फागुन २१ को यो निर्वाचन हाम्रा लागि अत्यन्त प्रतिकुल र रक्षात्मक रह्यो। तीन बर्षमा दुई वटा चुनावको तयारी गर्नु हामीजस्तो कोही रहस्यमय शक्ति र संस्थाहरूले नबोकेको सामान्य व्यक्तिका लागि अझ कष्टसाध्य व्यवस्थापकीय चुनौति छँदैथियो। यस चुनावमा विकासको काम, उम्मेद्वार र पार्टीका एजेण्डा, सामाजिक न्याय र समृध्दिको तुलनात्मक बहसभन्दा भ्रमपूर्ण दुष्प्रचार र चरित्रहत्याको परिचालित अभियान हावी र प्रभावी भएको छ। हामीलाई यसमा पनि कुनै दु:ख लागेको छैन।

हामीले ब्रम्हले देखेको सही कुरा र राष्ट्रको हित एवं स्वाभिमानको एजेण्डालाई मुखर रूपमा जनतामा स्थापित गर्न इमान्दारीका साथ प्रयाश गरेका छौं।यो लामो र निरन्तर चलिरहने लडाइँ हो भन्ने कुरासमेत राम्रोसँग थाहा छ। यस्तो अवस्थामा पनि प्युठानको निर्वाचनमा हामीलाई माया गरेर मतदान गर्ने सबै न्यायप्रेमी मतदाताहरू विशेष धन्यवादको पात्र हुनुहुन्छ। उहाँहरूको असीम सहयोग, सद्भाव र विश्वासलाई सधै सम्झिरहनेछौं।

हामी प्युठानको विकास र इज्जत अभिबृद्दिको काममा पदीय जिम्मेवारीमा भएजस्तै अब नहुँदा पनि निरन्तर सक्रिय रूपमा र जिम्मेवारीबोधका साथ लागिपर्ने नै छौं।

प्युठान र प्युठानीको जय होस् !
धन्यवाद।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार २०:१४