२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

२३ फागुन, कास्की । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार विजयी भएका छन् । आज घोषणा गरिएको अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवारले तीन वटै क्षेत्रमा फराकिलो अन्तरको जित निकालेका हुन् ।

कास्की क्षेत्र नं १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ ३९ हजार ८८३ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले दुई हजार ४७९ मत प्राप्त गर्नुभयो ।

यसैगरी कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गर्नुभयो ।


यस्तै, नेपाली कांग्रेसका माधव बास्तोलाले छ हजार ५०० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिनुभयो ।

कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले ३७ हजार ७५० मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० र एमालेका दामोदर पौडेल सात हजार ९०६ मत प्राप्त गर्नुभयो ।

कास्कीमा कुल तीन लाख आठ हजार ५७२ मतदाता रहेकामा एक लाख ८८ हजार ७६ मत खसेको थियो । प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की–१ मा ७० हजार १५०, कास्की–२ मा ५२ हजार ५१९ र कास्की–३ मा ६५ हजार ४०७ मत खसेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १८:१३