२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

जुम्लाका सात गाउँपालिका भवनविहीन, दैनिक प्रशासन सञ्चालनमै समस्या

२८ माघ, खलङ्गा।  जुम्लाको एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्नो भवन नहँदा भाडाका घरमा कार्यालय चलाउनुपर्ने बाध्यता रहेको छ । जुम्लाको एक मात्र नगरपालिका चन्दनानाथ नगरपालिकाको आफ्नो भवन सञ्चालनमा आए पनि वडापालिकाका भवनहरु छैनन् ।

स्थानीय तह गठन भएको दुई वर्ष पुग्न लाग्दासम्म स्थानीय तहले आफ्नो भवन निर्माण गर्न सकेका छैनन् । आफ्नै भवन नहुँदा स्थानीय तहको कामकाजमा समस्या हुँदै आएको छ । भवन निर्माणका लागि सरकारले बजेट व्यवस्थापन नगर्दा निर्माण गर्न नसकिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “भवनका लागि जग्गा पाउनु असाध्यै गाह्रो र भवन कुन ठाउँमा निर्माण गर्ने भन्ने विषयमा कार्यपालिकाभित्र विवाद भएकाले अहिले गाउँपालिकाको भवनबारे कुनै निर्णय गरिएको छैन् ।” चालू आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै बजेटबाट भवन निर्माण शुरु गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहका भवनबारे कार्यपालिकाभित्र विवाद हुदाँ स्थानीयवासीलाई पायक पर्ने स्थानमा भवन निर्माण गर्न कठिन भएको हिमा गाउँपालिका अध्यक्ष रजत शाहीले बताउनुभयो । गाउँपालिकाको आफ्नो भवनबारे कार्यपालिका बैठकमा कहाँ राख्दा स्थानीयवासीलाई राहत हुन्छ भन्नेबारे छलफल गरी सही निर्णय लिने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । पातारासी, गुठीचौर, सिँजा र कनकासुन्दरी गाउँपालिकालाई स्थानीयवासीबाट जग्गादान भएकाले छिट्टै भवन निर्माण गरिने ती गाउँपालिकाका अध्यक्षहरुले बताउनुभयो । रासस

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार ०९:४९