२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछः मुख्यमन्त्री बानियाँ

२१ फागुन, बागमती । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान पश्चात उहाँले लोकतन्त्रलााई बलियो बनाउन मतदान स्वच्छ, निष्पक्ष निर्वाचन आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यनिर्वाचन अन्तर्गत जिल्लाको दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । जिल्लाको ३७४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

मतदान जारी रहेकोे बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो । मतदान केन्द्रमा महिला र पुरुषको छुट्टाछुटै लाइनमा बस्ने व्यस्था मिलाइएको छ, भने आपाङ्गता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीलाई लाइनमा बस्न नपर्ने गरी विशेष व्यवस्था मिलाइएको प्रमुख ढकालले बताउनुभयो ।

जिल्लाका १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र राखिएको छ । यसममध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । यस्तै मकवानपुरमा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको सहायक प्रजिअ जोशीले बताउनुभयो ।

भीमफेदी कारागारमा रहेका ९९५ कैदीबन्दीमध्ये १६२ जनाको मतदाता नामावलीमा नाम समावेश रहेको भीमफेदी कारागारका प्रमुख सुवास पौडेलले बताउनुभयो । मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य ५ गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १३:५४