२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

२० फागुन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका सङ्घका छ जना सङघमा र सातवटै प्रदेशमा सात जना समन्वयकर्ता तोकिएको बताउनुभयो । उहाँका अनुसार निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका लागि स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका छ जना र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सात जना तोकिएको छ ।

सङ्घमा बन्दना भट्ट, डा नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीया सुवेदी रहनुभएको छ । यस्तै कोशी प्रदेशमा डा सभ्यता सुवेदी, मधेसमा फुलेन्द्र यादव, बागमतीमा दिनेश रुपाखेती, गण्डकीमा बुद्धिसागर अधिकारी, लुम्बिनीमा नोधनारायण चौधरी, कर्णालीमा श्यामलाल आचार्य र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी रहनुभएको छ ।

“समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने र उपचारसम्मको व्यवस्थाका लागि समन्वय गर्ने छन्”, मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भन्नुभयो । मन्त्रालयले यसअघि नै सबै अस्पतालमा ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशनसमेत दिइसकेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १६:०२