२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

डिजिटल कारोबारमा तीन तहको सुरक्षा अपनाउन राष्ट्र बैंकको आग्रह

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबारलाई सुरक्षित बनाउन तीन तहको सुरक्षा प्रणाली अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। सचेतना सन्देशमार्फत राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै तीन तहको सुरक्षा व्यवस्था अपनाउन आग्रह गरेको हाे ।

राष्ट्र बैंकका अनुसार सुरक्षित डिजिटल कारोबारका लागि तीन तहको सुरक्षा अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ ।

पहिलोः यसमा पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर जस्ता जानकारी समावेश हुन्छन्। यस्ता विवरण अरूसँग साझा नगर्न आग्रह गरिएको छ।

दोस्रोः मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन जस्ता साधनहरू यस अन्तर्गत पर्छन्। यस्ता उपकरणको सुरक्षा कायम राख्न सुझाव दिइएको छ।

तेस्रोः औंठाछाप, अनुहार वा आँखाको स्क्यान जस्ता बायोमेट्रिक विवरणहरू यस तहमा पर्छन्। यसले डिजिटल कारोबारलाई अझ सुरक्षित बनाउँछ।

राष्ट्र बैंकले डिजिटल वित्तीय कारोबारका लागि बहुस्तरीय प्रमाणीकरण (Authentication) विधि प्रयोग गर्न र व्यक्तिगत विवरण गोप्य राख्न विशेष आग्रह गरेको छ। राष्ट्र बैंकले डिजिटल कारोबार सुरक्षित राख्दै सचेत र जिम्मेवारी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

प्रकाशित मिति : 12:33