१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

साझा जनप्रतिनिधिको रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्छुः महासचिव पोखरेल

१७ फागुन, देउखुरी (दाङ) । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले दाङको समृद्धिका लागि सङ्कल्पपत्र तयार परेर आफू निर्वाचनमा होमिएकाले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको बताउनुभयो । आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उहाँले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

केन्द्रमा सशक्त उपस्थितिबिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै महासचिव पोखरेलले आफ्नो विजयले दाङको विकास समृद्धिको यात्रा निष्कर्षमा पुग्ने बताउनुभयो । आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै उहाँले बाँकी अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभयो ।

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चार लेन सडक समयमै सम्पन्न गर्ने महासचिव पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको महासचिव पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आईतवार २२:०६