१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

मोरङ–६ मा बसन्त बुढाथोकीद्वारा उम्मेदवारी फिर्ता, एमालेका विनोद ढकाललाई समर्थन

१७ फागुन, विराटनगर। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) का उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गर्नुभएको छ।

बुढाथोकीले आज मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ता लिएको औपचारिक घोषणा गर्नुभएको हो। उहाँले मोरङ–६ मा पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त रूपमा उठाउन सक्ने सक्षम उम्मेदवारका रूपमा विनोद ढकाल मात्रै देखिएकाले आफूले समर्थन गर्ने निर्णय गरेको बताउनुभयो।

“मोरङ–६ बाट पटक–पटक निर्वाचित जनप्रतिनिधिले जनताको आवाज सदनमा प्रभावकारी रूपमा उठाउन सकेनन्, विकास निर्माणका कामसमेत अपेक्षाअनुसार भएनन्,” बुढाथोकीले भन्नुभयो, “अहिले सदनमा बलियो आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल भएकाले पार्टीभन्दा माथि उठेर उहाँलाई जिताउनुपर्छ भन्ने निष्कर्षमा पुगेको हुँ।”

मोरङ–६ ले प्रभावकारी प्रतिनिधित्व, स्थिर नेतृत्व र बलियो आवाज खोजिरहेको उल्लेख गर्दै उहाँले क्षेत्रको समग्र हित, स्थिरता र समृद्धिका लागि ढकाललाई समर्थन गरेको स्पष्ट पार्नुभयो। “सबै एकजुट भएर मोरङ–६ को समृद्धिलाई अगाडि बढाउने उपयुक्त पात्र विनोद ढकाल नै हुनुहुन्छ,” उहाँले जोड दिनुभयो।

आफ्नो उम्मेदवारी देश र क्षेत्रको विकासका लागि भएको उल्लेख गर्दै बुढाथोकीले अहिलेको परिस्थितिमा साझा उद्देश्यका लागि सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

यसैबीच नेकपा (एमाले) विराटनगर महानगरपालिका अध्यक्ष नवीन गिरीले बुढाथोकीको समर्थनले युवाहरूको भावना र ऊर्जा एमालेतर्फ आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस समर्थनले विनोद ढकालको विजय यात्रालाई थप सशक्त र सुनिश्चित बनाउने दाबी गर्नुभयो।

प्रकाशित मिति : 15:30