१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

रास्वपाले मोदीलाई सम्बोधन गरिएको भनिएको पत्र ‘नक्कली’

१५ फागुन, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको संयुक्त हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर पत्र पठाइएको भन्ने विषय पूर्ण रूपमा नक्कली, भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारेको छ।

पार्टीको केन्द्रीय कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उक्त पत्र सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा सार्वजनिक गरिएको पत्र रास्वपाको आधिकारिक दस्तावेज नभएको तथा जिम्मेवार व्यक्तिहरूको नाम जोडेर अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा भ्रम फैलाउने प्रयास गरिएको उल्लेख छ ।

dainiki.com

रास्वपाका अनुसार आगामी निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको द्विपक्षीय सम्बन्धमा असर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा यस्तो प्रचार (प्रोपागान्डा) गरिएको देखिन्छ । पार्टीले यस्ता गतिविधिलाई गैरजिम्मेवार र निन्दनीय कार्यको संज्ञा दिएको छ ।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले विज्ञप्तिमार्फत पार्टीले सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई संवेदनशील विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्यको गम्भीर जाँच गर्न आग्रह गर्नुभएको छ । साथै द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा असर पर्ने सामग्रीलाई स्थान नदिन अनुरोध गरिएको छ।

रास्वपाले आम नागरिकलाई पनि निर्वाचनको समयमा फैलाइने फेक न्युज र भ्रामक प्रचारप्रति सचेत रहन अपिल गर्दै यस्ता अवाञ्छित गतिविधिमा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

विज्ञप्तिको अन्त्यमा सत्य र तथ्यको पक्षमा उभिनु सबैको साझा दायित्व भएको पार्टीले उल्लेख गरेको छ । नेपाल प्रेसले सार्वजनिक गरेको उक्त पत्र रास्वपाले सधैँ सार्वजनिक गर्ने लेटरप्याडसँग समेत मिल्दैन । साथै पत्रमा सामन्यतया अनुच्छेद मिलाएर प्रिन्ट गरिन्छ । तर नक्कली पत्रमा त्यो पनि गरिएको छैन भने लेटरप्याड समेत नक्कली नै प्रयोग भएको देखिन्छ ।

त्यस्तै सन् १९४७ अगस्ट १५ मा भारत ले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको सम्झनामा यो दिवस मनाइन्छ। भारतको ७७औँ स्वतन्त्रता दिवस १५ अगस्ट २०२३ मा परेको थियो । तर रवि-बालेनको भनिएको कथित पत्रमा भने २५ जनवरी २०२६ को मिति लेखिएको देखिन्छ । मिति र दिवसको आधारभूत तथ्यसमेत ख्याल नगरी नक्कली पत्र बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

यस्तो छ नक्कली पत्र ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार २२:४५