बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाणः शंकर पोखरेल
१५ फागुन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले उक्त डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताउनुभएको छ ।
पोखरेलले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने उल्लेख गर्नुभएको छ । उहाँले चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो वा नियोजित हस्तक्षेप ? भन्ने प्रश्न समेत उठाउनुभएको छ ।
उहाँले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्ने बताउनुभएको छ। साथै, नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको उल्लेख गर्दै सूचना स्वतन्त्र हुनुपर्ने तर त्यसको समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
पोखरेलले नेपाललाई भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा प्रयोग हुन नदिन आग्रह गर्दै नागरिकलाई सचेत रहन, तथ्य जाँच गर्न र राष्ट्रिय हितको पक्षमा उभिन आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ११:१०










