१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

सरकारी चेक भुक्तानीमा कडाइ, यस्तो छ नयाँ व्यवस्था

१५ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।

नयाँ व्यवस्था बमोजिम  राष्ट्र बैंकले अबदेखि जुनसुकै सरकारी कार्यालय वा संस्थाको नाममा खिचिएको ‘एकाउन्ट पेयी’ चेक सोही संस्थाको खातामा मात्र जम्मा गर्नुपर्ने स्पष्ट पारेको छ । यो व्यवस्था लागू गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

नयाँ प्रावधानअनुसार नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरूले खिच्ने चेकको अग्रभागको माथिल्लो खाली स्थानमा अनिवार्य रूपमा चेक राइटर, चेक जाँच, चेक प्रोटेक्टर वा रिबन राइटर प्रयोग गर्नुपर्नेछ। यसले चेकमा रकम तथा विवरण फेरबदल गर्ने सम्भावनालाई न्यून पार्ने विश्वास लिइएको छ।

त्यस्तै, कार्यालयको नाममा खिचिएको चेक सम्बन्धित कार्यालय आफैंले खातामा जम्मा गर्न पठाउँदा सो कार्यालयको स्पष्ट बुझिने छाप बैंकको पछाडि अनिवार्य रूपमा लगाइएको हुनुपर्नेछ। तर, सम्बन्धित कार्यालयका लागि अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो चेक खातामा जम्मा गरिदिँदा भने छाप लगाउन अनिवार्य नहुने व्यवस्था गरिएको छ।

यसैगरी, क्लियरिङमार्फत प्राप्त चेकको रकम जसको नाममा चेक खिचिएको हो, उसैको नामको खातामा मात्रै जम्मा गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। यसले तेस्रो पक्षमार्फत रकम हेरफेर वा गलत खातामा जम्मा हुने जोखिमलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १०:४१