१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

बेनी हाईड्रोपावरले चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने

१५ फागुन, काठमाडाैं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँको रु.१०० अंकित दरका १० लाख ४० हजार कित्ता साधारण सेयर मध्ये आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दाहरुलाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत)सेयर, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दाहरुलाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत)सेयर र उक्त आयोजनाको न्यून प्रभावित क्षेत्र अर्थात् आयोजनाको अति प्रभावित र प्रभावित क्षेत्र बाहेकको सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरुका स्थायी बासिन्दाहरुका लागि बाँकी २ लाख ८ हजार कित्ता (२० प्रतिशत)सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ ।

साथै, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको बासिन्दाहरुलाई सेयर बाँडफाँड गरे पश्चात् सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात रु.१० करोड ४० लाख रुपैयाँ रकम बराबरको रु. १०० अंकित दरका १० लाख ४० हजार कित्ता सेयर मध्ये १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक निष्काशन गरिनेछ ।

याे आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गते हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले एनएमबी बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको सोलुखुम्बुस्थित नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ०९:२९