१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

हिमालयन लाइफद्वारा दार्चुलाका ३१० विद्यार्थीलाई शैक्षिक ब्याग वितरण

१३ फागुन, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिमको विकट र दुर्गम क्षेत्रका रूपमा चिनिने दार्चुला जिल्लाको व्यास गाउँपालिका–३, सिना स्थित श्री सिद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले विद्यालयका करिब ३१० जना विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको हो।भौगोलिक रूपमा अत्यन्तै कठिन र राज्यको नजरबाट टाढा रहेको यस क्षेत्रका बालबालिकाहरू कापी किताब हातमा बोकेर वा झुत्रो झोलामा बोकेर विद्यालय जान बाध्य थिए। उनीहरूको यो बाध्यता र शिक्षाप्रतिको लगावलाई मध्यनजर गर्दै कम्पनीले सहयोगको हात अगाडि बढाएको हो।

कार्यक्रममा बोल्दै हिमालयन लाइफका उपप्रादेशिक प्रमुख टेक राज आचार्यले विकट क्षेत्रका विद्यार्थीहरूलाई सानो भए पनि सहयोग पुर्‍याउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताउनुभयाे ।

उहाँले थप्नुभयाे, हामीले केवल व्यवसाय मात्र गर्दैनौँ, समाजप्रतिको उत्तरदायित्व पनि बोकेका छौँ। सिना जस्तो दुर्गम ठाउँका विद्यार्थीहरूको हातमा झोला देख्दा हामीलाई गौरव महसुस भएको छ। शिक्षा नै भविष्यको आधार हो र यसमा बिमाले आर्थिक सुरक्षा प्रदान गर्दछ।

उहाँले सो अवसरमा बीमाको महत्त्व र भविष्यमा आइपर्ने जोखिम व्यवस्थापनमा बिमाको भूमिकाबारे समेत स्पष्ट पार्नुभयाे । विद्यालय व्यवस्थापन र स्थानीयको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा कम्पनीका तर्फबाट टेक राज आचार्यः उप-प्रादेशिक प्रमुख, नारायण सिंह ठगुन्नाः दार्चुला शाखा प्रमुख, जयन्ती भट्टः अपरेसन इन्चार्ज, निर्मला बम र दीपेन्द्र बोहोराः एजेन्सी म्यानेजरको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १३:२४