फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्दै टक्सार पिखुवा खोला हाईड्रोपावर
१३ फागुन, काठमाडाैं। टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले यही फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजीको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
जसमध्ये स्वीकृत विवरणपत्र मार्फत जारी पूँजीको १० प्रतिशत, अर्थात १२ करोड रकम बराबरको रु.१०० अंकित दरका १२ लाख कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थाई बसोबास गर्ने बासिन्दाहरु (भोजपुर जिल्लाको बासिन्दा) को निमित्त साधारण सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ ।
सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रकम बराबरको रु.१०० अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता सेयर नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि, सार्वजनिक निष्काशन गरिनेछ ।
यस्तै ५ प्रतिशत अर्थात १ करोड ५१ लाख ५३ हजार ३०० रकम बराबरको रु.१०० अंकित दरका १ लाख ५१ हजार ५३३ कित्ता सेयर सामूहिक लगानी कोषका योजनाहरुको लागि र सार्वजनिक निष्काशन गरिने सेयरको २ प्रतिशत अर्थात ६० लाख ६१ हजार ३०० रकम बराबरको रु.१०० अंकित दरका ६० हजार ६१३ कित्ता सेयर कर्मचारीहरुको लागि सुरक्षितल राखी बाँकी रहेको २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले भोजपुरमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंकको भोजपुर शाखा, प्रभु बैंकको प्याउली शाखा, प्रभु बैंकको हटुवागढी शाखा, सिटिजन्स बैंकको भोजपुर शाखा र कमलादीमा रहेको प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १०:४८










