एक कम्पनीको बोनस सेयर डिम्याट खातामा जम्मा
१२ फागुन, काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ। कम्पनीको दशौं वार्षिक साधारणसभाले मंसिर १० गतेसम्म कायम सेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र २.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
सभा प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका बखत अभौतिक (डिम्याट) रुपमा सेयरधारण गरेका सेयरधनीहरुको हितग्राही खातामा फागुन ५ गतेदेखि नै बोनस सेयर जम्मा गरिसकिएको छ।
यस्तै, हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा भने सेयर अभौतिकीकरण सम्पन्न भएपछि स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ। त्यसका लागि सम्बन्धित सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ।
बोनस सेयरसम्बन्धी थप जानकारीका लागि कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रकाशित मिति : 09:20









